काठमाडौं, ६ असोज ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले राहदानी र राष्ट्रिय परिचयपत्र वितरण सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ ।
गत भदौ २४ गते जेनजी समूहको प्रदर्शनका क्रममा भएको आगजनीले कार्यालयको संरचना र अभिलेखहरू जलेर नष्ट भएपछि सेवा प्रवाह असम्भव बनेको हो । सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले विज्ञप्ति जारी गर्दै सेवालाई पूर्ववत् सञ्चालन गर्न कार्यालय निरन्तर प्रयासरत रहेको जानकारी दिएका छन् ।
कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा सेवा पूर्णरूपमा सुचारु नहुन्जेल अत्यावश्यक कामका लागि अन्य कार्यालयमा जान आग्रह गरिएको छ । राष्ट्रिय परिचयपत्रसम्बन्धी अत्यावश्यक सेवाका लागि नारायणहिटी दरबारमा रहेको सेवा इकाईबाट सेवा लिन सकिनेछ भने राहदानीसम्बन्धी अत्यावश्यक कामका लागि राहदानी विभाग, त्रिपुरेश्वरमा सम्पर्क गर्नुपर्ने व्यवस्था गरिएको छ ।







