जेठ ५, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको तत्वावधान तथा स्पोर्टस फर अल कमिसनको आयोजनमा शनिबार ओलम्पिक डे २०२१ मनाइएको छ । कमिटीको सातदोबाटो स्थिति मुख्यालयमा आयोजित विशेष कार्यक्रमबीच सम्पूर्ण  स्वास्थ सुरक्षा अपनाएर ओलम्पिक डे मनाइएको हो । त्यस अवसरमा युवा तथा खेलकुद मन्त्री माननीय एकबाल मियाँले नेपालको झण्डा झण्डोत्तोलन गर्नु भएको थियो ।
यस्तै कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा झण्डोत्तोलन गर्नु भएको थियो । त्यसै अवसरमा मन्त्री माननीय मियाँ र अध्यक्ष माननीय श्रेष्ठबीच मैत्रीपूर्ण टेबल टेनिस खेल पनि भएको थियो । त्यसपछि आयोजित मुख्य कार्यक्रममा कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक डे को महत्त्वबारे प्रकाश पार्नु भएको थियो ।
अध्यक्ष श्रेष्ठले त्यस अवसरमा ओलम्पिक डे को आयोजनामा नेपाली खेलकुद र समग्र समाजमै भातृत्व र शान्ति बढ्ने बताउनु भयो । यस्तै मन्त्री मियाँले नेपाली खेलकुद विकासका लागि सामुहिक प्रयास आवश्यक भएको र आफू नेपाली खेलकुदको विकासमा सबै प्रकारले सहयोग गर्न तयार रहेको बताउनु भयो ।
कार्यक्रममा गायन पनि प्रस्तुत गर्नु भएको थियो । त्यस अवसरमा कमिटीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य तथा महासचिव निलेन्द्र श्रेष्ठको उपस्थिति थियो । नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको हो । यसपल्ट कमिटी, यस मातहतका विभिन्न संघ संस्थाले २ सय ३१ कार्यक्रम पनि गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय