काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ५ बाट नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेकी कल्पना शर्मा पेशाले अधिवक्ता हुन्। लामो समयदेखि न्याय, समानता र सामाजिक न्यायको पक्षमा आवाज उठाउँदै आएकी शर्माले राजनीतिलाई पेशा नभई सेवाको रूपमा लिएको बताउँछिन्।

“राजनीति मेरो पेशा होइन, सेवा हो,” उनी भन्छिन्, “म अन्यायमा परेका जनताको आवाज बन्न चाहन्छु।”उनका अनुसार उनी महिलाहरूको आवाज, युवाहरूको आवाज र दबिएका वर्गको आवाज बनेर संसदसम्म जनताको समस्या पुर्‍याउने दृढ संकल्पका साथ मैदानमा उत्रिएकी हुन्।

कल्पना शर्माले भ्रष्टाचारमुक्त समाज निर्माण, सुशासन, समृद्धि र सामाजिक न्यायका लागि निरन्तर जनताको पक्षमा लड्ने प्रतिबद्धता जनाएकी छन्। “मेरो दृढ संकल्प जनताको आवाज हो, समस्याको समाधान हो,” उनी भन्छिन्।

अधिवक्ताको रूपमा न्याय क्षेत्रमा काम गर्दै आएकी शर्माले व्यवहारिक अनुभवका आधारमा समस्या पहिचान र समाधान गर्न सक्ने नेतृत्व आवश्यक रहेको धारणा राख्छिन्। उनका अनुसार देशलाई अहिले नयाँ पुस्ता, नयाँ सोच र समस्याको समाधानसहितको प्रतिनिधित्व चाहिएको छ।

“जनताको शासक होइन, सेवक बनेर काम गर्न चाहन्छु,” उनी भन्छिन्, “युवा पुस्ताको आवाज बनेर सदनसम्म जनताको कुरा पुर्‍याउने संकल्पका साथ तपाईंहरूमाझ आएको छु।”

आगामी निर्वाचनमा उनले तारा चिन्हमा मतदान गर्न काठमाडौँ क्षेत्र नम्बर ५ का मतदातालाई आग्रह गरेकी छन्।उनको अभियान जनतासँगै हिँड्ने, जनताकै लागि काम गर्ने र जनताकै आवाज संस्थागत गर्ने उद्देश्यमा केन्द्रित छ। उनी भन्छिन् “सुशासन, समृद्धि र सामाजिक न्यायका लागि निरन्तर जनताको पक्षमा लडिरहने छु। तपाईंहरूको विश्वास नै मेरो शक्ति हो।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय