दुई महिनादेखि काठमाडौँको मुख्य सडकमा फोहोर नउठ्दा समस्या भएको छ। बिशेषगरि काठमाडौको मुख्य ठाँउहरु कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको फोहरको थुप्रो हुँदा समस्या आएको छ । सडकमा फोहर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ । बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो ।
सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साविकबमोजिम फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौँको मुख्य चोकमा फोहर थुप्रिन थालेको जनाएको कामपाको रहेकोे छ । यही साउन ४ गते काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै सवारी साधन चलाउन कठिन भएकाले फोहर व्यवस्थापनमा समस्या भएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उक्त बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले कही दिन सबै स्थानको फोहर व्यवस्थापन गर्न कठिन हुने उनको भनाइ छ ।
त्यसैगरी बञ्चरेडाँडाका स्थानीयले सम्झौताअनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् । समयमा नै सडक मर्मतको काम नगरेको, फोहर बोक्ने गाडीमा (लिचड ट्याङ्की) फोहरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको प्रत्याभूतिजस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् ।
कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणमा रहेको जनाउँदै उपत्यकाको कुहिने फोहर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जानकारी दिएको छ । त्यसका लागि उपत्यकाको अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ ।







