काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेतृत्वद्वारा काठमाडौँ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवारका रूपमा अघि सारिएका इन्द्र भुसाल स्थानीय स्तरमा चिनिएका सामाजिक अभियन्ता हुन्। विगत २५ वर्षदेखि काठमाडौँ क्षेत्र नं. ४ मा बसोबास गर्दै आएका भुसाल समाज, जनजीवन र स्थानीय समस्यासँग नजिकबाट जोडिँदै आएका छन्।
स्थानीय माटोमै हुर्किएका भुसालले यहाँका हरेक टोल, गल्ली र नागरिकले भोग्दै आएका समस्यालाई नजिकबाट बुझ्ने व्यक्ति रूपमा आफूलाई स्थापित गरेका छन्। यही अनुभव र जनतासँगको सम्बन्धकै आधारमा उनले जनप्रतिनिधि बन्ने हिम्मत गरेको बताउँछन्।
भुसाल आफू नेता बन्न होइन, जनताको कुशल सेवक बन्न राजनीतिमा आएको दाबी गर्छन्। चुनावी अभियानका क्रममा उनले धेरै वाचा गर्नेभन्दा पनि जनताको मतलाई आधार मानेर इमानदार काममार्फत आफूलाई प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।
काठमाडौँ क्षेत्र नं. ४ का प्रमुख समस्या रूपमा रहेको ढल व्यवस्थापन र डुबानलाई भुसालले आफ्नो प्राथमिक एजेन्डा बनाएका छन्। चुनिखेलसम्म फैलिएको अव्यवस्थित ढल व्यवस्थापनले हजारौँ नागरिकको दैनिकी प्रभावित बनाएको उल्लेख गर्दै उनले यसलाई अब केवल असुविधा नभई स्वास्थ्य र वातावरणीय संकटको रूपमा लिएका छन्।
त्यसैगरी, बर्खायाममा कपनलगायत क्षेत्रमा बारम्बार हुने डुबानले जनजीवन आक्रान्त बनाएको भन्दै भुसालले यस्ता समस्याहरू अब सहन नसकिने तहमा पुगेको बताएका छन्। “जनताको पीडा अब भाषणमा सीमित होइन, ठोस समाधानको चरणमा जानुपर्छ,” उनको भनाइ छ।
काठमाडौँ क्षेत्र नम्बर ४ का जनतासँग गरेको प्रतिबद्धताअनुसार ढल व्यवस्थापन, डुबान नियन्त्रण तथा आधारभूत सहरी पूर्वाधार सुधारलाई उच्च प्राथमिकतामा राखेर समाधान गरिने भुसाल बताउँछन्। यी विषयहरूलाई पार्टीको केन्द्रीय एजेन्डाका रूपमा अघि बढाउन नेतृत्वसमक्ष पहल गर्ने उनले जानकारी दिएका छन्।
जनताको पीडालाई नीति, कार्यक्रम र बजेटसँग जोडेर समाधान गर्न नेपाली कम्युनिस्ट पार्टी दृढतापूर्वक प्रतिबद्ध रहेको र त्यसको कार्यान्वयनकर्ता बन्न आफू तयार रहेको भुसालको भनाइ छ।
काठमाडौँ क्षेत्र नम्बर ४ अन्तर्गत काठमाडौँ महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३० तथा बूढानीलकण्ठ नगरपालिकाका वडा नम्बर १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछन्। यस क्षेत्रमा कुल मतदाता संख्या ७६ हजार १४१ रहेको छ।आउँदो निर्वाचनमा उनले तारा चिन्हमा मतदान गरी जनताको सेवा गर्ने अवसर दिन मतदातासँग आग्रह गरेका छन्।







