नविना श्रेष्ठ
माघ ५,२०८०
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले खुलामञ्चलाई खुल्लै राख्नुपर्ने बताए। खुलामञ्च मासेर फुटबल मैदान बनाउने विषय बाहिरिएपछि उहाँले सामाजिक सञ्जाल मार्फत यस्तो अपिल गरेका छन्। नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उहाँले सामाजिक सञ्जालमा लेखेका, ‘पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्व स्थल हो । मलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मञ्चमा ऋषिकेश शाह लगायतका मानव अधिकारवादी नेताहरूसँग उभिएर गणतन्त्रको पक्षमा बोलेको अझै सम्झना हुन्छ ।’
उहाँले खुलामञ्चलाई अझै व्यवस्थित गरेर आमजनता र संगठनहरूले जनआवाज खुला रूपले मुखरित गर्नसक्ने सार्वजनिक स्थल बनाउनुपर्ने माग गरेका छन् । ‘जीवन्त लोकतन्त्रमा संसद मात्र हैन सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्वपूर्ण थलो हुन्छ भन्ने नभुलौं,’ उहाँले भनेका छन् । हिजोको आन्दोलनकारीहरू आज सत्तासिन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रका निम्ति शुभसंकेत नरहेको उहाँको भनाइ रहेको छ ।







