नेपाली कथानक चलचित्र ‘बेहुली फ्रम मेघौली’ अब ओटीटी प्लेटफर्म एमएसएम भिडिओमा रिलिज हुने भएको छ। अभिनेता, निर्माता, र निर्देशक निश्चल बस्नेतले बुधबार सामाजिक सञ्जालमा यसको जानकारी दिएका छन्।
बस्नेतले हलमा चलचित्र हेरिदिने दर्शकहरूलाई धन्यवाद दिँदै भनेका छन्, “भोलि (१७ अक्टोबर)देखि हामीले नेपालका सबै हलमा चलचित्र नलगाउने निर्णय गरेका छौं।”
उक्त चलचित्रमा बस्नेतले निर्माता तथा कलाकारको भूमिका निभाएका छन्। साथै, यसमा स्वस्तिमा खड्का, बसुन्धरा भुसाल, विजय बराल, सिम्रन खड्का, रक्षा थापा, लोकेन्द्र लेखक, सिरु बिष्ट, र आमिर गौतमजस्ता कलाकारहरूको पनि अभिनय रहेको छ।
यसअघि, दशैंको समयमा बस्नेतको अर्को चलचित्र ‘दिमाग खराब’ पनि एमएसएम भिडिओमा रिलिज भएको थियो। यस ओटीटी प्लेटफर्ममा ‘महाजात्रा’ र ‘घरज्वाइँ’ जस्ता चलचित्रहरू पनि उपलब्ध छन्। तर, यस प्लेटफर्ममा साइनअप गर्दा ओटीपी (वन टाइम पासवर्ड) नआउने समस्याले गर्दा प्रयोगकर्ताहरूले गुनासो गरेका थिए। बस्नेतले उक्त समस्या समाधान भइसकेको जानकारी दिए पनि अझै ओटीपी नआइरहेको गुनासो सामाजिक सञ्जालमा देखिएका छन्। अब चाडै ती समस्या पनि समाधान हुने बताएका छ्न ।







