काठमाडौं – जितु नेपाल र नीति शाह अभिनीत फिल्म ‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक भएको छ। असोज २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मले हास्य र मनोरञ्जनको मुख्य केन्द्रविन्दु बनाउँदै दर्शकलाई सिनेमाघरसम्म तान्ने अपेक्षा गरिएको छ।
निर्देशक बसन्त निरौलाले ट्रेलरमा हँसाउने क्षणहरू प्रस्तुत गर्दै फिल्मको कथावस्तुको झलक दिएका छन्। ट्रेलरमा नीतिको श्रीमान बन्ने उद्देश्यले युवाहरूबीचको प्रतिस्पर्धालाई रोचक ढंगमा देखाइएको छ। साथै, फिल्ममा जितु र नीतिको विवाहदेखि त्रिभुवन विमानस्थलका दृष्यसम्मका विविध पलहरू प्रस्तुत गरिएको छ।
फिल्ममा जितु र नीतिसँगै हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे, रमेश बुढाथोकी, शिशिर वाङ्देल, दीपक आचार्य ‘काकु’, निमा पाण्डे, कविता आले, र शिबु पाण्डेजस्ता कलाकारहरूले पनि प्रमुख भूमिका निर्वाह गरेका छन्।
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा समिर पण्डित, सौगात पण्डित, र पदमलाल तामाङ निर्माता रहेका छन्। रेड आई फिल्म्सको ब्यानरमा तयार पारिएको यो फिल्मको कार्यकारी निर्माता विजय बस्याल हुन्। फिल्मको कथा सबिन अधिकारीले लेखेका हुन् भने शंकर धितालले पटकथा लेखेका छन्। छायांकनको जिम्मा श्याम तामाङले सम्हालेका छन्।
फिल्मको ट्रेलरले रमाइलो र मनोरञ्जनपूर्ण कथा प्रस्तुत गर्दै दर्शकको चासो र प्रतिक्षा बढाएको छ। अब, असोज २४ गते बिहीबारदेखि फिल्म प्रदर्शनमा आउने छ, जसले नेपाली फिल्म उद्योगमा नयाँ मनोरञ्जनात्मक छाप छोड्ने विश्वास गरिएको छ।







