टोखा, साउन — टोखा नगरपालिका–७ स्थित तिलिङ्गाटारमा हालै निर्माण सम्पन्न गरिएको सार्वजनिक पार्कमा अज्ञात समूहद्वारा गरिएको तोडफोड घटनापछि एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
श्रोतका अनुसार, बिहीवार राति करिब १ बजे करिब २० जनाको समूहले पार्क परिसरमा रहेको ३८ मिटर लामो पर्खाल र त्यहाँ जडान गरिएका २४ वटा बत्तीहरू तोडफोड गरेका थिए। पार्कको संरचना हालै मात्र नगरपालिकाको बजेटमा निर्माण सम्पन्न गरिएको थियो।
घटनापछि अनुसन्धानमा खटिएको महाराजगञ्ज प्रहरी वृत्तले शनिवार साँझ जोरपाटी क्षेत्रबाट यादव थरका एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। प्रहरी श्रोतका अनुसार, घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी र थप अनुसन्धान जारी रहेको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार योजनाबद्ध रूपमा आएको समूह हतियारसहित आएको थियो र कुनै अवरोधबिना तोडफोड गरी अँध्यारोमै फरार भएको थियो। स्थानीयबासीले सार्वजनिक सम्पत्तिमाथि गरिएको यस किसिमको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
नगरपालिकाले पनि सार्वजनिक संरचना ध्वस्त पारिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ र दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ।
© बागमती मञ्च समाचार







