चिकित्सकहरूले डेंगी सङ्क्रमणको समस्या बढिरहेका बेला आत्तिन नपर्ने सुझाव दिएका छन्। अधिकांश सङ्क्रमित व्यक्तिहरू सामान्य उपचार र हेरचाहबाट निको हुने जानकारी दिएका छन्। यद्यपि दीर्घरोगी, गर्भवती महिलाहरू र बालबालिकामा सङ्क्रमण जटिल बन्न सक्ने सम्भावना रहेको चिकित्सकहरूको टिप्पणी छ। धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले सङ्क्रमणका लक्षणहरू जस्तै उच्च ज्वरो, रक्तस्राव, र शरीर दुख्ने अवस्थामा उचित हेरचाह र विश्राम आवश्यक रहेको बताएका छन्।
डेंगी सङ्क्रमणका कारण बान्ता, नाकबाट रगत आउनु, र कालो दिसा जस्ता लक्षणहरू देखिएमा चिकित्सकको विशेष निगरानीमा उपचार गरिनु पर्ने प्रमुख चिकित्सकले बताए। उनीहरूले प्रशस्त आराम गर्न र पानीजस्तो झोलिलो पदार्थ पिउनु पर्ने आवश्यकता औंल्याएका छन्। चिकित्सक प्रधानले, “जथाभावी औषधी सेवन गर्नु हुँदैन,” भन्दै डेंगी सङ्क्रमणको जोखिम बढाउन सक्ने चेतावनी दिएका छन्।
गण्डकी प्रदेशका कास्की, तनहुँ लगायतका जिल्लामा गत असारयता डेंगी सङ्क्रमणको वृद्धि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्कअनुसार १२ हजारभन्दा बढी व्यक्तिमा डेंगी सङ्क्रमण पुष्टि भएको छ, जसमा कास्कीमा पाँच, म्याग्दीमा एक र तनहुँमा एक जनाको मृत्यु भएको छ। चिकित्सक प्रधानले डेंगीबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नका उपायहरूको पालन गर्नुपर्ने र सफा पानीका जम्ने स्थानहरू हटाउने सिफारिस गरेका छन्।







