प्रतिनिधिसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा समाजवादीका कृष्णकुमार श्रेष्ठ विजयी भएका छन् । निर्वाचन अधिकृत कृष्णबहादुर राईले प्रत्यक्ष तर्फको केही मत समानुपातिकको पेटिकामा खस्न गएकाले त्यसको गणना गर्न बाँकी भए पनि जितको लागि श्रेष्ठलाई अहिलेको अंक नै पर्याप्त रहेको बताए ।
पूर्व श्रम मन्त्रीसमेत रहेका श्रेष्ठ नेकपा समाजवादीका केन्द्रीय सदस्यसँगै सत्ता गठबन्धन तर्फबाट उम्मेदवार थिए । व्यापारी पृष्ठभूमिका श्रेष्ठ तनहुँका हुन् । उनी यसअघि तनहुँबाट नेकपा एमालेबाट प्रत्यक्षतर्फ संघीय संसदमा विजयी भएका थिए । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँलाई पराजित गरी विजयी भएका हुन् । श्रेष्ठले २० हजार २ सय ९१ मत ल्याए भने मियाँले १३ हजार ८ सय ६३ मत प्राप्त गरे ।







