बुढानीलकण्ठ, काठमाडौं — बुढानीलकण्ठ नगरपालिका–१३ मा अवस्थित पिक पोइन्ट एकेडेमीले यस वर्षको एसईई (२०८१) मा उल्लेखनीय सफलता हासिल गर्दै १२औं ब्याचका विद्यार्थीहरूका लागि एक भव्य सम्मान कार्यक्रम आयोजना गरेको छ। विद्यालयबाट यसपटक ६ जना विद्यार्थीले ४.० जिपिए ल्याउनुका साथै कुल ६५ जना विद्यार्थीहरू उत्कृष्ट नतिजा ल्याउन सफल भएका थिए।
शनिबार आयोजित कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडा नं. १३ का वडाध्यक्ष टिका नारायण श्रेष्ठ, अन्य वडाध्यक्षहरू, विभिन्न विद्यालयका प्रिन्सिपल तथा सञ्चालकहरू, विद्यार्थी, अभिभावकसहितको बाक्लो उपस्थिति थियो।
विद्यालयका प्रिन्सिपल विनय श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रधानमन्त्री सिंहले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै शैक्षिक गुणस्तरमा निरन्तरता दिन विद्यालय परिवारलाई आग्रह गरे। उनले बालबालिकाको भविष्य उज्ज्वल बनाउन यस्तो कार्यक्रम प्रेरणादायी हुने बताए।
४.० जिपिए ल्याउने ६ जना विद्यार्थीहरूलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरियो। साथै, अन्य ५९ जना विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गर्दै विद्यालयले कूल ७ लाख ४५ हजार रुपैयाँको नगद पुरस्कार वितरण गरेको हो।
कार्यक्रममा प्रमुख अतिथिसहित उपप्रमुख लामा, प्रमुख अधिकारी, संयोजक महेश केसी, विद्यालय सञ्चालक ईश्वर केसी, अभिभावक प्रतिनिधि, र ४ जीपीए प्राप्त विद्यार्थीहरूले आ–आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रममा विद्यार्थीहरूको कला प्रदर्शन, कृतज्ञता व्यक्त गर्ने अभिव्यक्ति र प्रेरणादायी सम्बोधनहरूले माहोल झनै प्रभावशाली बनाएको थियो।
विद्यालयका तर्फबाट भविष्यमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै विद्यार्थीहरूको सर्वाङ्गिण विकासमा लागिरहने प्रतिबद्धता व्यक्त गरिएको छ।







