पोखरा महानगरपालिका ३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटिएम तोडफोड गरी दुई वटा क्यासेट र नगद चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार नवलपरासी देवचुली नगरपालिका ५ घर भई कास्की पोखरा महानगरपालिका ३० डुँडाको मुख बस्ने २१ वर्षीय अनिश तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका २७ ताल चोकस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन तोडफोड गर्ने प्रयास गरेको तथा एनएमबी बैंकको एटिएम मेशिन फोडी साउन ३ गते बिहान नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनलाई रुपन्देही बेलहियाबाट पक्राउ गरेको हो ।







