काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीत जारी हस्ताक्षर संकलन अभियानप्रति पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतले कडा आपत्ति जनाएका छन्। उनले बालबालिकालाई प्रयोग गरेर रवि लामिछानेको पक्षमा सहानुभूति बटुल्ने प्रयास निन्दनीय भएको बताएका छन्।

 

पूर्वमन्त्री तथा एमाले नेता बस्नेतले आरोप लगाए: बालबालिकाको प्रयोग गरेर अपराध ढाक्ने प्रयास हुँदैछ

 

उनका अनुसार, बिस्कुट र कुरकुरे दिएर बालबालिकाबाट हस्ताक्षर गराउने र युट्युबरहरूमार्फत उक्त दृश्य सामाजिक सञ्जालमा प्रचार गर्ने कार्य अत्यन्त आपत्तिजनक छ। “यसले बाल अधिकारको गम्भीर उल्लंघन मात्र होइन, समाजमा नै गलत सन्देश प्रवाह गरेको छ,” बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेका छन्।

बस्नेतले यस्ता कार्यहरूलाई ‘नैतिक पतन’ को संज्ञा दिँदै भनेका छन्, “अझ खेदजनक त के छ भने, बालबालिकाको अधिकार हनन गर्ने यिनै व्यक्ति आफैलाई ‘सुधारक’ भन्न लाज मान्दैनन्। सहकारी ठगीजस्ता गम्भीर आरोप खेपिरहेका व्यक्तिहरूले कानुन हातमा लिएर बालबालिकाको आडमा आफ्ना अपराध छोप्ने प्रयास गर्नु गम्भीर अपराध हो।”

उनले कानुनको शासन र बालअधिकारको संरक्षणलाई पहिलो प्राथमिकता दिनु पर्नेमा जोड दिएका छन्। “बालबालिकालाई राजनीतिक हतियार बनाउने प्रयास कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन,” बस्नेतको भनाइ छ।

यसअघि, रवि लामिछानेमाथि सहकारी ठगीसम्बन्धी विभिन्न आरोप लागिरहेका बेला देशभर उनका समर्थकहरूले समर्थनमा हस्ताक्षर संकलन गर्ने अभियान चलाएका छन्। केही ठाउँमा स्कुले बालबालिकासमेत उक्त अभियानमा संलग्न गराइएको भिडियो एवं फोटोहरु सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आलोचना चुलिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय