बूढानीलकण्ठ, काठमाडौं ।
बूढानीलकण्ठ नगरपालिकामा माओवादी केन्द्रको सक्रियता देखिएको छ। नगरस्तरको सांगठानिक विभिन्न कार्ययोजना तय गर्न माओवादी केन्द्रले नेवा तामाङ जागरण विशेष कार्यक्रमको आयोजना गरेको छ।
शनिबार (२०८२ असार २१ गते) हुने कार्यक्रमका लागि माओवादी केन्द्र बूढानीलकण्ठ नगर समिति सक्रिय रूपमा तयारीमा जुटेको छ। समितिको तर्फबाट जारी अपिलमा नगरपालिकाभित्र रहेका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूलाई अनिवार्यरूपमा उपस्थित हुन आग्रह गरिएको छ।
नगर समिति स्रोतका अनुसार सो कार्यक्रममा संगठनको सुदृढीकरण, आगामी रणनीति, जनसम्बन्ध विस्तार र स्थानीय तहमा पार्टीको प्रभावकारिता बढाउने विषयमा विस्तृत छलफल हुनेछ।
“बूढानीलकण्ठ नगरपालिका भित्र रहेका माओवादी केन्द्रका सबै नेता, कार्यकर्ता एवं शुभचिन्तकहरूलाई भोलिको कार्यक्रममा उपस्थित भई सफल बनाउन नगर समिति हार्दिक अनुरोध गर्दछ,” अपिलमा भनिएको छ।
यस पुनःसक्रिय प्रयासलाई स्थानीय राजनीतिक विश्लेषकहरूले बूढानीलकण्ठमा माओवादीको प्रभाव विस्तारको संकेतका रूपमा लिएका छन्। पार्टीभित्र आन्तरिक एकता र अनुशासनलाई सुदृढ बनाउँदै स्थानीय जनताको मुद्दामा केन्द्रित हुनुपर्ने धारणा पनि व्यक्त भइरहेको छ।







