काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको १२औँ स्थापना दिवस উপলक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम मंगलबार हात्तीगाँडास्थित नगर प्राङ्गणमा उत्साह, सहभागिता र सांस्कृतिक झल्कीसहित भव्य रूपमा सम्पन्न भएको छ। नगर प्रमुख मिठाराम अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा रहेका थिए।

कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य  सुन्दर पुर्कोटी, जिल्ला समन्वय समिति काठमाडौँकी उपप्रमुख शान्ति पाण्डे, नगर उपप्रमुख अनिता लामा, प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोला, पूर्वनगर प्रमुख उद्धव खरेल, पूर्व माननीय नुहुछे नारायण श्रेष्ठ , पूर्व प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, कर्मचारी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई झनै भव्य बनाएको थियो।

राष्ट्रिय गान र शहीद सम्मानसहित सुरुआत

वडा नम्बर १० का वडा अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईको सञ्चालनमा कार्यक्रमको सुरुआत राष्ट्रिय गान तथा शहीदहरूको सम्झनामा मौनधारणबाट भएको थियो। उपप्रमुख अनिता लामाले स्वागत मन्तव्य प्रस्तुत गर्दै नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार तथा सेवा प्रवाहका क्षेत्रमा गर्दै आएको सुधार र प्रगतिबारे प्रकाश पारिन्। प्रमुख अतिथि मन्त्री थापाले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरे।

विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति आकर्षणको केन्द्र

जुगल नवगुरुकुलका विद्यार्थीले प्रस्तुत गरेको स्वस्तिवाचन तथा बालउद्धार माध्यमिक विद्यालय र गणेश माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका आकर्षक नृत्य, गीत–संगीतले कार्यक्रमको वातावरण झनै उत्साहपूर्ण बनेको थियो। स्थानीय कलाकार तथा समूहहरूको सहभागिताले बुढानीलकण्ठको सांस्कृतिक विविधताको झल्को दिएको थियो।

विकास र सहकार्यका विषयमा मन्त्री थापाको प्रतिबद्धता

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जयराम थापाले बुढानीलकण्ठ नगरपालिकालाई प्रदेशका गतिशील र क्षमताशाली स्थानीय तहहरूमध्ये एक भन्दै निरन्तर विकासका कदमहरू प्रशंसनीय रहेको बताए।“काम गर्दै जाँदा केही कमजोरी देखिन सक्छ, तर सुधार गर्दै अघि बढ्नु नै प्रगतिको मूल मन्त्र हो,” मन्त्री थापाले भने। उनले नगरवासीका प्रमुख समस्यामध्ये रहेको खानेपानी व्यवस्थापनमा प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा छिट्टै ठोस परिणाम आउने प्रतिवद्धता व्यक्त गरे।

पूर्व प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेले नगरको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन प्रशासनिक सुधार, पारदर्शिता र जनउत्तरदायित्वमा निरन्तरता दिनुपर्ने धारणा राखे। उनले विकासका योजनाहरू व्यवहारिक, दिगो र समयमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

‘समृद्ध, सुव्यवस्थित र नागरिकमैत्री नगरपालिका हाम्रो लक्ष्य’ — नगर प्रमुख अधिकारी

नगर प्रमुख मिठाराम अधिकारीले नगरवासीका आवश्यकता र अपेक्षालाई केन्द्रमा राख्दै नगरपालिका सुव्यवस्थित तथा प्रविधिमैत्री बनाउने योजनाहरू अघि बढिरहेको बताए।“हामी विकास, सेवा प्रवाह र सुशासनलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ। जनआस्थालाई अझ मजबुत बनाउने हाम्रो प्रतिवद्धता छ,” प्रमुख अधिकारीले भने।

कार्यक्रममा रास्वपाका नगर कार्यवाहक सभापति राधा शाह, नेपाली कम्युनिस्ट पार्टी  का प्रतिनिधि भाइनारायण श्रेष्ठ, एमाले नगर कमिटीका अध्यक्ष प्रदीप डंगोललगायतले शुभकामना मन्तव्य राख्दै नगरको समग्र विकासमा राजनीतिक दलहरूको सहकार्य निरन्तर रहनुपर्ने बताए।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। नगर प्रमुख अधिकारीले सबै उपस्थितिप्रति आभार व्यक्त गर्दै,“समृद्ध, सुशासित र आधुनिक बुढानीलकण्ठ निर्माणमा नगरपालिकाको भूमिका अझ प्रभावकारी हुनेछ,” भन्दै १२औँ स्थापना दिवसको समापन घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय