मनोनयन दर्तामा बालेन कन्फ्युज, ओली व्यवस्थित देखिए
झापा–५ मा मनोनयन दर्ताको फरक–फरक दृश्य

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापा क्षेत्र नम्बर ५ अहिले राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। यस क्षेत्रमा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन)बीचको प्रत्यक्ष प्रतिस्पर्धाले चुनावी माहोल तातेको छ।

मंगलबार सम्पन्न उम्मेदवारी मनोनयन दर्ता प्रक्रियामा दुवै पक्षको तयारी र उपस्थितिमा स्पष्ट भिन्नता देखियो। एमाले अध्यक्ष ओलीको टोली व्यवस्थित, योजनाबद्ध र समयमै निर्वाचन कार्यालय पुगेको देखिएको थियो। आवश्यक कागजात, धरौटी रकम र प्रक्रियागत तयारी पूरा गरेर ओलीले सहज रूपमा मनोनयन दर्ता गराए।

यता रास्वपाका तर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहको मनोनयन दर्ता प्रक्रिया भने केही अव्यवस्थित देखियो। कलाकार अर्जुन घिमिरे ‘पाँडे’को नेतृत्वमा निर्वाचन कार्यालय पुगेको टोलीमा आधारभूत तयारीको कमी देखिएको थियो।

बालेन स्वयं निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भए पनि उनले मनोनयन फाराम भरेका थिएनन्। नागरिकता र मतदाता परिचयपत्रको प्रतिलिपि साथमा नहुँदा तत्काल फाराम भर्ने प्रक्रिया अघि बढ्न सकेन। उनका समर्थकहरू पनि फाराम कसरी भर्ने भन्ने विषयमा अनभिज्ञ देखिएका थिए। निर्वाचनको कार्यलय जाँदै गर्दा पनि अहिले एउटा भिडियो भाइरल भैरहेको छ जुन भिडियोमा आफ्नो पछि लागेर आएका कार्यकर्तालाई बालेनले रिसले धकेलिरहेका थिए ।

पछि पार्टीका कानुन जान्ने नेता यज्ञमणि न्यौपाने निर्वाचन कार्यालय पुगेपछि फाराम भर्ने काम अघि बढ्यो। आचारसंहिता लागू भइसकेकाले निर्वाचन कार्यालयका कर्मचारीहरूले फाराम भर्न सहयोग गर्न अस्वीकार गरेपछि न्यौपानेले नै फाराम पूरा गरेका थिए।

त्यसैगरी, मनोनयन दर्ताका लागि आवश्यक १० हजार रुपैयाँ धरौटी रकम पनि टोलीसँग तत्काल उपलब्ध नभएकाले बाहिरबाट पैसा मगाउनुपर्ने अवस्था आएको थियो। केही समयको ढिलाइपछि सबै प्रक्रिया पूरा गरी बालेनले मनोनयन दर्ता गराएका हुन्।

झापा–५ मा दुई प्रभावशाली र फरक पृष्ठभूमिका नेताबीचको प्रतिस्पर्धाले आगामी निर्वाचनलाई रोचक बनाएको छ। मनोनयन दर्ताकै दिन देखिएको तयारीको अन्तरले चुनावी रणनीति र संगठनात्मक अवस्थाबारे विभिन्न अड्कलबाजी सुरु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय