मैले छोडिसके
– देवराज मिलन
यो अहिलेको उमेर
बुढौतिले अंकमाल गरेपछि
मैले अब प्रकृति संग
पिरती गाँस्न थाले
नेता संग कुम मिलाएर
फोटो खिच्दै पोस्ट्याउन
आफ्नो इज्जतमा
दाग लगाउदिन
त्यस्तो लाचारी काम गर्न
अब मैले छोडिसके।
गुराँस संग मीत लाउछु
बिहानी पख झुल्के घामको
हिमाली पर्दामा देखिने
मनोरम् दृश्यको
चलचित्र आँखामा सजाउछु
दुर्गन्धले डुङडुङ्ती
सिनो भएका नेताको
अकुत सम्पती कमाउने
भर्याङ बनिन साथी
अब मैले त्यागीसके।
खेतीवारि माटो खोस्रीन
गोठमा बसेर
गोबर संग खेल्न
लालाबालाको भबिस्य
अब आफै बनाउनु पर्ने
कर्तव्यबोध भै सक्यो
नेताले शिक्षाको ब्यापार
हाम्रै पसिना लुटेर
हामिलाई कामदार बनाएको
अब सहन गर्न सकिन
लाल सलाम र जय नेपाल
दास बनिएर
मुठ्ठी कस्न हात जोड्न
अब मैले छोडिसके।
आफ्नो बर्ग भनेर संघर्षमा
उमेर त्यागेर हिडेको म
जवानी त्यही गयो
परिश्रम त्यही भयो
पढाई छुट्यो
परिवार टुट्यो
जागीर भएन आर्थिक उन्नति
मेरो त सर्वस्वो लुट्यियो
सिद्धान्तको दुहाई दिदै
मेरो दिमाग भुटियो
फगत मृगतृष्णा रहेछ
उ शहरमा पुग्यो
म बगरमा एकमुठ्ठी श्वास
आज सम्म बाँचेको छु
त्यसैले कमरेड
स्वार्थको राजनीति
अब मैले त्यागेको छु
मुठ्ठी कस्न र हात जोड्न
अब मैले छाडिसकेको छु।
सुन्दरहरैचा
१३ असोज २०८०
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Bagmati Manch
Made with ❤️ By Gorkhaly Labs







