काठमाडौं, असोज २६ — देशभर फैलिएको जेन–जी आन्दोलन पछिको राजनीतिक अन्योल अन्त्य गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न एकीकृत समाजवादी निकट अनेरास्ववियू र युवा संघ नेपाल ले संयुक्त रूपमा १३ बुँदे मागसहित दबाबमूलक विज्ञप्ति सार्वजनिक गरेका छन्।
संयुक्त विज्ञप्तिमा दुबै संगठनले हालको सरकारले अपनाएको कार्यशैली, बढ्दो भ्रष्टाचार, जनतामाथिको दमन र राज्य संयन्त्रभित्र देखिएका प्रणालीगत विकृतिप्रति कडा असन्तोष प्रकट गरेका छन्। उनीहरूले जनताको भावना बुझ्न, आन्दोलनका वैध मागहरू सम्बोधन गर्न र शासन प्रणालीलाई पारदर्शी तथा जवाफदेही बनाउन सरकारलाई सचेत गराएका छन्।
विज्ञप्तिमा युवालाई नीति निर्माणको मूलधारमा सहभागी गराउने, शिक्षा र रोजगारीका अवसर विस्तार गर्ने, भ्रष्टाचारविरुद्ध कडा कानुनी कारबाही गर्ने र जनतामुखी शासन प्रणाली सुनिश्चित गर्ने मागहरू समावेश छन्। साथै, संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र मूल्य बचाउन सबै राजनीतिक दलहरूलाई जिम्मेवार र संयमित रहन आह्वान गरिएको छ।
दुवै संगठनले चेतावनी दिएका छन् कि युवाको आवाजलाई बेवास्ता गरिए आन्दोलनको रूप अझ व्यापक र सशक्त बन्न सक्नेछ।










