सुवास श्रेष्ठ –
काठमाडौं, भदौ २८ – अप्ठ्यारोमा पर्दा राजीनामा दिएर भागेको फेरि पदमा फर्कन खोजेको आरोप लगाउँदै अनेरास्ववियुका नेता–कार्यकर्ताले अध्यक्ष डा. सुजन कडरियाविरुद्ध आक्रोश पोखेका छन्।
शनिबार अनेरास्ववियुका आक्रोशित नेता तथा कार्यकर्ताले कडरियाको कार्यकक्षमा टाँसिएको नेमप्लेट झिकेर जलाएका छन्। त्यससँगै उनले प्रयोग गरेको फोटोसमेत तोडफोड गरेका छन्।
भदौ २३ गतेको (जेन–जी) ले गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा २४ जना युवा–विद्यार्थी हताहत भएका थिए। त्यसको भोलिपल्ट भदौ २४ गते कडरियाले नैतिकताको आधारमा जिम्मेवारी नसम्हाल्ने भन्दै राजीनामा दिएका थिए।
तर भोलिपल्टै उनले आफूलाई ज्यान मार्ने धम्की आएको, कुटपिट भएको जस्ता कारण देखाउँदै राजीनामा फिर्ता लिन खोजेका थिए। तर उनको राजीनामा औपचारिक रूपमा स्वीकृत भइसकेको छैन।
कार्यकर्ताहरूले भने कडरियाको यो कदमलाई ‘जिम्मेवारीबाट पन्छिन खोजिएको कायरता’ को संज्ञा दिएका छन्। उनीहरू अध्यक्षको पुनरागमन प्रयासलाई अस्वीकार गर्दै थप संघर्षको चेतावनी दिएका छन्।







