रुपन्देही–२ मा सत्ता गठबन्धनले नेकपा एमालेका विष्णु पौडेलका विरुद्ध राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापालाई अघि सार्ने भएको छ ।यसअघि गठबन्धनबाट उम्मेद्वार बनेका एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएसँगै गठबन्धनले विकल्पका रुपमा केशवलाई अघि सार्ने निर्णय गरेको हो ।

गुरुङको कालोसूचीमा नाम रहेको भन्दै निर्वाचन आयोगले असोज २५ गते उम्मेद्वारी खारेज गरेको थियो । आयोगले उम्मेद्वारी खारेजपछि गुरुङ सर्वोच्च अदालत पुग्नुभएको थियो ।सर्वोच्चले ३० गते अल्पकालिन अन्तरी आदेश जारी गर्दै उम्मेद्वारी कायम गरेपनि गत शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले निर्वाचन आयोेगको निर्णय सदर गरेपछि सत्तागठबन्धनले विकल्प खोजेका थियो ।रुपन्देहीमा विभिन्न चरणमा भएको छलफलपछि केन्द्रीय तहबाट जनमुक्ति पार्टीका उम्मेद्वारलाई सघाउने गरी निर्णय भएको छ ।

आज नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गरि जनमुक्ति पार्टीका थापालाई गठबन्धनले साझा उम्मेद्वारका रुपमा समर्थन गर्ने निर्णय गरेको हो ।नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलका विरुद्ध उम्मेद्वार नभएको भन्दै चर्चा भइरहेको बेला गठबन्धनले थापालाई समर्थन गर्ने निर्णयसँगै रुपन्देही २ मा फेरी चुनावी माहोल तात्ने भएको छ ।राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष समेत रहेका केशवले एक्लै लड्न तयार भएर मैदान ओर्लेका बेला पाँच दलको समेत समर्थन हुने भएपछि जित निकाल्न सहज हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय