काठमाडौं / व्यवसायिक आइडिया र लगानीको मेल गराउने बहुप्रतीक्षित अन्तर्राष्ट्रिय फ्रेन्चाइज कार्यक्रम ‘शार्क ट्याङ्क नेपाल’ यही जुलाई २बाट हिमालय टिभी एचडी मा प्रसारण सुरु भएको छ। कार्यक्रम हरेक बुधबार र बिहीबार राति ९ बजे प्रशारण हुने जानकारी आयोजकले दिएका छन्।
पहिलो सिजनमा २०० व्यवसायिक आइडिया सुन्ने र छनोटमा परेकाहरूमा रु ३५ देखि ४० करोडसम्मको लगानी गर्ने योजना रहेको आयोजकको भनाइ छ।
कार्यक्रममा ५ जना अनुभवी लगानीकर्ता (शार्क्स) रहनेछन्, जसले प्रस्तुत उद्यमीहरूको आइडिया सुनी सोही आधारमा लगानी प्रस्ताव गर्नेछन्। शार्कको भूमिकामा आईएमई ग्रुपका हेमराज ढकाल अग्नि ग्रुपका क्याबिनेट श्रेष्ठ निम्बस ग्रुपका आनन्द बगरिया वैद्यज् अर्गनाइजेशनकी ऋतु सिंह वैद्य रज्योति ग्रुपका सौरभ ज्योति रहेका छन्।
कार्यक्रमको सञ्चालन प्रियंका रानी जोशीले गरेकी छन् भने निर्देशक सिमोस सुनुवार रहेका छन्, जसले यसअघि “हिमालय रोडिज” निर्देशन गरेका थिए।
नेपालमा स्टार्टअप संस्कृतिको विकास र युवाहरुलाई व्यवसायिक यात्रा सुरु गर्न प्रेरणा दिन यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार, यस सिजनमा २० वटा एपिसोड प्रसारण हुनेछन् र हरेक एपिसोडमा करिब ५ जना उद्यमी आफ्नो आइडिया प्रस्तुत गर्नेछन्।
शार्क ट्याङ्क विश्वभर ५० भन्दा बढी देशमा प्रसारित हुँदै आएको लोकप्रिय कार्यक्रम हो, जसले लाखौं व्यवसायिक आइडिया र उद्यमीहरूलाई जीवन परिवर्तन गर्ने मौका दिएको छ। नेपालमा यसको संस्करण सुरु हुनु नेपाली उद्यमशीलता र नवप्रवर्तनको दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।







