संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल इन्भेष्टमेन्ट बैंकको आर्थिक सहयोगमा पुनर्निर्माण भएको पशुपति सङ्ग्रहालय तथा महास्नान भवनको उदघाटन गर्नुभएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको आर्थिक सहयोगमा पशुपति संग्रहालय तथा महास्नान भवन पुनर्निर्माण सम्पन्न भएको छ । पाशुपत क्षेत्रमा छरिएर रहेका धार्मिक, सांस्कृतिक महत्त्वका सामग्रीहरुलाई एकै स्थानमा संकलन, अभिलेखीकरण र प्रस्तुतिकरण गरी संग्रहालयको रुपमा विकास गरिनु महत्वपुर्ण बिषय हो ।
संग्रहालयमा धार्मिक महत्त्वका सुनका जलप लगाइएका मूर्ति, तामा/पित्तल/ढलौटका मूर्तिहरु, संस्कृति झल्काउने भेषभूषा, गरगहना, मुकुण्डो एवम् पुरातात्विक महत्वका काष्ठकला, चित्रकला, मुर्तिकला, लिञ्छविकालीन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तक, प्राचीन मुद्रा, छाप तथा अन्य मूर्त अमूर्त सम्पदाका सामग्री राखिएको छ ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिले महत्त्वपूर्ण पशुपति महास्नानघर भवनलाई पुनर्निर्माण गर्न नेपाल इन्भेष्टमेन्ट बैंकले सहयोग गरेको हो । बैंकले पशुपति संग्रहालय महास्थानघर परियोजनामा ५ करोड १४ लाख रुपैयाँ तथा पाशुपत क्षेत्रको संरक्षणार्थ करिब ४ करोड गरी कुल ९ करोडभन्दा बढी सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको प्रयास अन्य बैंक तथा वित्तीय संस्थाका लागि पनि अनुकरणीय छ ।







