पल शाहको मामिलामा अभिनेत्री पूजा शर्माले एक पोडकास्टमा समर्थन जनाउँदै बोलेपछि गायिका समीक्षा अधिकारीले आफ्नो सामाजिक सञ्जालमा पूजा शर्मालाई लक्षित गर्दै कडा प्रतिक्रिया व्यक्त गरेकी छन्।
समीक्षाले लेखेको स्टाटसमा उनले अदालत र न्यायाधीशको भूमिका खेल्दै कलाकारहरूले फैसला दिने कुरामा आपत्ति जनाउँदै भनिन्, ‘अदालत नै पोडकास्टहरु हुन् भने, न्यायाधीश नै यी र यस्ता कलाकारहरु हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि?’
समीक्षाले थप लेखिन्, ‘सत्य के हो? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ।’ उनले आफ्नो उमेरलाई उल्लेख गर्दै भनिन्, ‘के सही? के गलत? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ। र, माफी दिएर सावित गरिदिएँ।’
समीक्षाले आफ्नो स्टाटसमा पूजा शर्माले बारम्बार उनलाई प्रहार गरेको आरोप लगाउँदै, ‘आफैँ छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र?’ भनेर प्रश्न गरेकी छन्। उनले आफ्नो संस्कार र सम्मानबारे पनि उल्लेख गर्दै, ‘सानालाई माया र ठूलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ। हिजो तिमी मेरो बहिनी भनेर आउनुभयो, मैले दिदि भनें, मानेँ। अहिले पनि मानेकी छु। मान्छु तर यसरी पिडा नदिनुस् प्लिज!’ भन्दै आफ्नो भावना व्यक्त गरेकी छन्।
यो स्टाटस सार्वजनिक भएपछि पूजा शर्मा र पल शाहको मामिला फेरि एकपटक चर्चामा आएको छ, जसले सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रतिक्रिया र बहसलाई उत्प्रेरित गरेको छ।







