पौष १५ / सुर्खेतको वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरिएको छ । राजा बिरेन्द्रको सालिक भत्काएको १४ बर्ष पछि फेरि सुर्खेतको बिरेन्द्र चोकमा सालिक राखिएको हो। स्वतन्त्र सुर्खेतबासी जनता समूहले २०६२/६३ सालको जनआन्दोलनका क्रममा भत्काइएको शालिक पुनःस्थापना गरेको हो ।
वीरेन्द्र चोकमा राजा वीरेन्द्रको शालिक राख्ने-नराख्ने विषयमा यहाँ ठूलो विवाद थियो । विवादकै बीच स्वर्गीय राजा वीरेन्द्रको ७७ औँ जन्मजयन्तीका अवसरमा उक्त समूहले एक्कासि अर्धकदको शालिक राखेको हो ।नगरपालिकाले वीरेन्द्र चोकलाई ०७५ साल जेठमा पानीको फोहोरासहितको चोक निर्माण गर्ने योजना बनाएपनि विवाद भएपछि यो योजना सफल हुन सकेन र चोकमा गमला राखिएको थियो ।
दुई वर्षअघि चौक पुनः निर्माण गर्दा स्थानीयवासीले शालिक पुनःस्थापना गर्न वीरेन्द्रनगर नगरपालिकालाई दबाब दिएका थिए तर नगरपालिका भने राजनीतिक सहमति बेगर भत्काइएको शालिक पुनःस्थापना गर्न नसकिने भन्दै पन्छिँदै आएको थियो ।राजा वीरेन्द्रका दम्पति सुर्खेत आएका बेला २०४४ सालमा मुख्य बजार चोकलाई ‘वीरेन्द्रचोक’ नामकरण गरेका थिए भने सोही बेला आफ्नै शालिक अनावरण समेत गरेका थिए।







