नेकपा (एमाले) बागमती प्रदेश इन्चार्जको नेतृत्वमा काठमाडौं जिल्लाका इन्चार्जहरू, जिल्ला अध्यक्ष लगायतका पदाधिकारीहरूको प्रतिनिधिमण्डलले आज नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गरेको छ। भेटघाटका क्रममा प्रतिनिधिमण्डलले हालै नदी किनारका जमिन र बस्तिका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिमण्डलले सर्वोच्च अदालतको फैसला र मेयरको परिपत्रले नदी किनारका बस्तीहरूमा बसोबास गर्दै आएका नागरिकहरूलाई प्रभावित गर्ने सम्भावनाबारे चिन्ता व्यक्त गरेको छ। साथै, यस विषयमा उचित समाधानको लागि देउवा नेतृत्वमा नेपाली काँग्रेसले अग्रसरता लिने अपेक्षा गरिएको छ।
सभापति देउवाले प्रतिनिधिमण्डलको कुरा ध्यानपूर्वक सुनेका थिए र यस विषयमा पार्टीको तर्फबाट आवश्यक छलफल र पहल गरिने आश्वासन दिएका छन्।







