काठमाडौं, भदौ २२ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मित्रराष्ट्र रुसको भ्रमण सम्पन्न गरी शनिवार स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ता ठूलो संख्यामा पुगेका थिए।
अध्यक्ष नेपालले भदौ १६ गते रुसको मस्को प्रस्थान गरेका थिए। रुसमा आयोजित ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी त्यहाँ गएका थिए। उक्त सम्मेलन भदौ १८ देखि २१ गतेसम्म सञ्चालन भएको थियो।
सम्मेलनका क्रममा अध्यक्ष नेपालले साउथ एसियन इकोनोमिक फोरमको समूहगत छलफलमा भाग लिएका थिए ।अध्यक्ष नेपालले भ्रमणका क्रममा चीन, रुसलगायत विभिन्न देशका कम्युनिष्ट नेताहरूसँग पनि भेटघाट गरेका थिए। उनीहरूले आपसी हितका मुद्दाहरूमा गहन छलफल गरेका छन्, जसले नेपाल र यी देशहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
अध्यक्ष नेपाल स्वदेश फर्किएपछि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आन्तरिक संगठनात्मक गतिविधिमा सक्रिय हुने बताइएको छ। विशेषतः, पार्टीका केन्द्रीय विभाग र इन्चार्जहरूका जिम्मेवारी तोक्ने कामलाई उनले प्राथमिकता दिनेछन्।
बागमती मञ्च समाचार







