ललितपुर, किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बाढी पसेको छ। अस्पतालको पर्खाल भत्किँदा कर्मनाशा खोलाको बाढी तल्लो तलामा छिरेको हो। पानी छिरेपछि त्यहाँ रहेका बिरामीलाई तुरुन्तै सुरक्षित स्थानमा सारिएको ललितपुर प्रहरी परिसरले जनाएको छ।
लगातारको वर्षाले उपत्यकाका विभिन्न स्थानमा जनजीवन प्रभावित बनेको छ। ललितपुरमा मात्र होइन, उपत्यकाका विभिन्न ठाउँमा स्थानीय खोलाहरूको बहाव बढेर घरहरूमा पानी पसेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले माइकिङ गरेर नागरिकलाई सुरक्षित रहन अनुरोध गर्दै आएको छ।
यसैबीच, भक्तपुरको कटुन्जेमा पनि घट्टेखोलाको बहाव बढ्दा स्थानीयका घरहरूमा पानी पसेको छ। उपत्यकाका प्रमुख नाकाहरू अवरुद्ध भएका छन्, जसले गर्दा जनजीवन थप प्रभावित भएको छ।







