खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। उपभोक्तालाई राहत दिने उद्देश्यसहित कम्पनीले अत्यावश्यक खाद्यवस्तुमा विशेष छुट प्रदान गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको उपस्थितिमा काठमाडौँमा आयोजित एक कार्यक्रममा पसलको उद्घाटन गरिएको थियो। यो पसल विगतका वर्षभन्दा सात दिन अगाडि सञ्चालनमा ल्याइएको हो, जसबाट कम्पनीले ५० हजार क्विन्टल खाद्यवस्तु बिक्री गर्ने लक्ष्य राखेको छ।

कम्पनीले दाल, चामल, गेडागुडी, तेल, घिउसहित विभिन्न वस्तुहरूमा प्रतिकेजी पाँच देखि सात रुपैयाँसम्मको छुटको व्यवस्था गरेको छ। विशेष रूपमा कर्णालीका रैथाने उत्पादनहरूमा पनि छुट दिइएको छ।

यस कार्यक्रमअन्तर्गत काठमाडौँ उपत्यकाका चार स्थान (थापाथली, रामशाहपथ, नक्खु, सूर्यविनायक) र ४२ जिल्लाका ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ। सहुलियत पसलहरू माघ २ सम्म सञ्चालनमा रहने छन्।

सहुलियत पसलको सञ्चालनका लागि सरकारले तीन करोड बजेट विनियोजन गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुको माग अत्यधिक हुने हुँदा बजार मूल्य अस्वाभाविक रूपमा नबढोस् भन्ने उद्देश्यले यो पहल गरिएको हो। साथै, बिक्री केन्द्रसम्म पुग्न नसक्ने उपभोक्ताका लागि अनलाइन अर्डरमार्फत होम डेलिभरीको सुविधा पनि उपलब्ध गराइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय