धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी तोक्ने निर्णयमा उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश दिएको छ। धरान–११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई कार्यवाहक मेयर तोक्ने निर्णय विरुद्ध उपमेयर अइन्द्रविक्रम बेघाले कात्तिक ४ गते अदालतमा रिट दायर गरेका थिए।
मेयर साम्पाङले असोज २३ मा वडाध्यक्ष फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका थिए, जबकी उपमेयर नगरमै उपस्थित थिए। साम्पाङ असोज २८ मा बेलायत भ्रमणमा निस्किएपछि उपमेयर बेघा चिढिएर कानूनी प्रक्रिया अपनाएका हुन्।
उपमेयर बेघाले मेयर साम्पाङको कदमलाई गैरकानूनी ठहर गर्दै उच्च अदालतमा उत्प्रेषणयुक्त परमादेश मागेका थिए। उक्त रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीश ध्रुवराज नन्दको एकल इजलासले मेयरको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।
अदालतले कात्तिक ६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। मेयर साम्पाङ र माओवादी केन्द्रबाट निर्वाचित उपमेयर बेघाबीच पछिल्लो ६ महिनादेखि सम्बन्ध बिग्रँदै गएको छ। मेयर साम्पाङले दलहरूको हस्तक्षेपलाई सीमित गर्न खोजेको र आफ्नो नातेदारलाई कार्यवाहक मेयर तोक्ने प्रयासले उपमेयरलाई थप असन्तुष्ट बनाएको छ।
अदालतको आदेशमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को व्यवस्था तथा धरान नगर कार्यपालिका नियमावली, २०७४ का प्रावधान उल्लङ्घन भएको ठहर गर्दै कार्यवाहक मेयर तोक्ने निर्णय तत्काल यथास्थितिमा राख्न आदेश दिइएको छ।







