काठमाडौं, भदौ २० – नेकपा (एमाले) बागमती प्रदेशका इञ्चार्जको नेतृत्वमा काठमाडौं जिल्लाका इञ्चार्ज र पालिका इञ्चार्जहरू, साथै जिल्लाका अध्यक्षसहित पदाधिकारीहरूको प्रतिनिधि मण्डलले आज दिउँसो नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेको छ। यस भेटमा हालै सर्वोच्च अदालतले नदी किनारका जमिन र बस्तीहरूको सम्बन्धमा गरेको फैसलाबारे ध्यानाकर्षण गराउँदै काठमाडौँ महानगरपालिकाका मेयरले जारी गरेको परिपत्रको विषयमा समेत गम्भीर छलफल भएको छ।
प्रतिनिधि मण्डलले सर्वोच्च अदालतको फैसलाले उत्पन्न गरेका समस्याहरूको समाधान खोज्न सरकारलाई पुनरावलोकनमा जानुपर्ने माग राख्यो। प्रचण्डले यस किसिमका जनसरोकारका विषयमा माओवादी केन्द्रले औपचारिक निर्णय गर्ने प्रतिबद्धता जनाउँदै, सरकारको भ्याकेटमा जाने प्रक्रिया अघि बढ्दा आफ्नो दलले पूर्ण समर्थन गर्ने स्पष्ट पार्नुभयो।
यस भेटवार्तामा दुबै दलका नेताहरूबीच जनसरोकारका विषयहरूमा सहकार्य गर्दै अघि बढ्ने विषयमा सहमति भएको थियो।







