पोखरामा तोकिएको अधिकतम मूल्यभन्दा बढी शुल्क लिई मिनरल वाटर बेचेपछि रेष्टुरेन्टलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।
पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारले २० रुपैयाँको पानीको बोतल १ सय रुपैयाँमा बिक्री गरेको पाइएको हो। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार, उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गर्दै जरिवाना तोकिएको हो।
रेष्टुरेन्टले पानी प्रशोधक कम्पनीले तोकेको मूल्यभन्दा बढी रकम असुलेको पाइएपछि ग्राहकले बिलसहित जिल्ला प्रशासनमा उजुरी गरेका थिए। सोही उजुरीका आधारमा प्रशासनले कारबाही अघि बढाएको हो। उपभोक्ता संरक्षण ऐनको दफा ३८ र ३९ अनुसार कारबाही गरिएको छ।







