काठमाडौं- सरकारी कागजातको अभावले समस्यामा परेका प्रकाश तामाङको नागरिकता बनाउने कार्यलाई तीव्रता दिने प्रयास अघि बढेको छ। प्रधानमन्त्रीको निर्देशनपछि गृहसचिव एकनारायण अर्यालले प्रकाश तामाङको नागरिकता छिटो दिलाउन प्रतिबद्धता जनाउनु भएको छ, जसले गर्दा उहाँलाई आवश्यक सहयोग गर्न सहज हुनेछ।
प्रकाश तामाङको समस्या बुझ्नका लागि प्रस्तोता विद्या चापागाईं (हेर्न कथा )र सचिवालयको पहलमा प्रकाशसँग सम्पर्क भयो। सम्पर्कपछि, प्रकाशलाई नागरिकता नहुँदा बैंक खाता खोल्न असमर्थ भएको र त्यसैले सहयोग प्राप्त गर्न पनि कठिनाइ भइरहेको बुझियो। यस विषयलाई गम्भीरतासाथ लिंदै, प्रधानमन्त्रीले नागरिकता छिटो दिलाउने निर्देशन दिनुभयो।
प्रधानमन्त्रीको निर्देशनपछि विद्या चापागाईंले राति १० बजे गृहसचिव अर्यालसँग सम्पर्क गरेर नागरिकता बनाउने प्रक्रियालाई अघि बढाउन आग्रह गर्नुभयो। गृहसचिव अर्यालले दुई/चार दिनभित्रै प्रकाशलाई नागरिकता दिलाउन सहजीकरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
नागरिकता प्राप्त भएपछि, प्रकाशलाई आवश्यक सहयोगको व्यवस्थापन गर्न विभिन्न संघसंस्था र व्यक्तिहरूले जुट्ने योजना बनाइएको छ। प्रधानमन्त्रीको सक्रिय भूमिकाले यस अभियानलाई थप गति दिएको छ, जसले प्रकाश तामाङजस्ता समस्यामा परेका अन्य नागरिकहरूलाई पनि आफ्नो अधिकार प्राप्त गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।







