काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हालै आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत मोबाइल बैंकिङ ट्रान्सफरमा लाग्ने अतिरिक्त शुल्कका सम्बन्धमा जनतासँग संवाद गरेका छन्। डिजिटल माध्यमबाट कारोबार गर्दा सेवाग्राहीले भोग्नुपरेका समस्याहरुको बारेमा सरकारले चासो देखाएको ओलीले लेखेका छन्।
उनले लेखेका छन्, “हिजोआज धेरै नागरिकले डिजिटल माध्यमबाट कारोबार गर्ने गरेका छन्। इन्टरनेटको सहजताका कारण सानादेखि ठूला कारोबार पनि अब क्यासलेस प्रणालीबाट हुने गरेको छ। तर, मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्कका विषयमा नागरिकको गुनासो प्राप्त भइरहेको छ।”
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, “तपाईंहरुको सल्लाह र सुझाव महत्त्वपूर्ण छन्। साना डिजिटल कारोबार गर्दा लाग्ने अतिरिक्त शुल्क हटाउने वा कम गर्ने विषयमा म सम्बन्धित अधिकारीहरूसँग छलफल गर्दै छु। जनताका यस्ता समस्याहरुलाई सरकारले गम्भीरताका साथ लिँदैछ, र आवश्यक सुधारका लागि पहल गरिनेछ। तपाईंहरुको गुनासो सरकारलाई जानकारी गराउन हामीलाई सधैं झकझकाइरहनुहोस्।”
प्रधानमन्त्री ओलीको यस सन्देशले सरकार साना कारोबारकर्ताको समस्याप्रति संवेदनशील रहेको र डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका लागि आवश्यक कदम चाल्ने संकेत दिएको छ।
सरकारले डिजिटल अर्थतन्त्रको प्रवर्द्धन गर्न शुल्क घटाउने विषयमा अध्ययन गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले जनताका यस्ता गुनासाहरुका लागि निरन्तर समाधानको प्रक्रिया अगाडि बढाउने बताएका छन्।







