काठमाडौं – टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। सुर्खेतका गोपीराम (गोपीकृष्ण) जैसी र अछामका रामबहादुर बुढालाई मंगलबार पक्राउ गरिएको हो।
प्रहरीले सिसिक्यामेराको सहायतामा पहिचान गरी, गृह मन्त्रालयको निर्देशनमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाइएको छ। काठमाडौं प्रहरी परिसरका एसएसपी वसन्त रजौरेका अनुसार उनीहरूलाई सोधपुछका लागि मात्र पक्राउ गरिएको हो, भने अनुसन्धानपछि मुद्दा चलाउने वा नचलाउने निर्णय हुने छ।
नाराबाजीका कारण मञ्चमा बोलिरहेका ओली र देउवाले प्रतिवाद गर्दै घटना आलोचना गरेका थिए। ओलीले नाराबाजीलाई असभ्य र अशिष्टताको संज्ञा दिएका छन् भने देउवाले नाराबाजी गर्नेलाई बदमासहरूको संज्ञा दिँदै कडा प्रतिक्रिया दिएका छन्।
पक्राउ परेकाहरूको परिवारले नेताहरूविरुद्ध नाराबाजी गरेकै आधारमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ। प्रहरीले नाराबाजीमा संलग्न अन्यलाई पनि खोजिरहेको छ।







