मकवानपुरको मनहरी गाउँपालिका-६, प्रतापपुरमा बिहीबार बिहान सवा ३ बजे बलबहादुर राईको गोठमा एक मृत बाघ फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गोठमा बाँधिएको भैँसी घाइते अवस्थामा भेटिएको छ। प्रारम्भिक अनुसन्धानले भैँसीको आक्रमणमा बाघको मृत्यु भएको संकेत गर्दैछ।
चितवन राष्ट्रिय निकुञ्जका सौराहा सेक्टर प्रमुख शान्तबहादुर मगरले बताए अनुसार, मृत बाघ बुढो, असाध्यै दुब्लो र कमजोर देखिएको थियो। “बाघले आक्रमण गर्न खोज्दा भैँसीले नै उसलाई हानेर मारिदिएको देखिन्छ। घटनास्थलको मुचुल्का तयार गरेर बाघलाई पोष्टमर्टमका लागि कसरा ल्याइनेछ,” उनले भने।
चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बाघको यो अवस्था जंगलमा सिकार गर्न नसक्ने स्थिति आउने कारण हुनसक्ने जनाए। “कमजोर भएर अरु बाघसँग प्रतिस्पर्धा गर्न नसकेपछि बस्तीमा प्रवेश गरेको हुनसक्छ। भैँसी बाघभन्दा बलियो भएकोले बाघको मृत्यु भएको हो,” तिवारीले थपे।
बाघको आयु लगभग १५ वर्ष रहेने अनुमान गरिएको छ। घटनास्थलमा भेटिएको बाघको घाँटीभन्दा तल्लो भागमा चोट लागेको छ भने भैँसीलाई पनि चोट लागेको छ। यो घटनास्थल चितवन राष्ट्रिय निकुञ्जबाट करिब ३०० मिटर पर रहेको लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोले बताए।
सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले बाघलाई घटनास्थलबाट ल्याइरहेको छ। घटनाको सम्पूर्ण विवरण र बाघको वास्तविक मृत्यु कारण पोष्टमर्टमपछि मात्र स्पष्ट हुने भएको छ।







