शुक्रबार प्रेस काउन्सिल नेपालमा एक अभिमुखीकरण कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियामा पीडित पक्षको आवाजले कम स्थान पाएको र कतिपयले त थप पीडा दिने काम भएकोले त्यसलाई रोक्न सुझाव दिनुभएको छ ।शुक्रबार भएको उक्त अभिमुखिकरण  कार्यक्रम तथा  २७ वटा अनलाइनका सञ्चालक र सम्पादक सहभागी रहेका सो कार्यक्रममा अध्यक्ष बस्नेतले पीडितलाई थप पीडा दिने गरी समाचार र समाचारजन्य सामग्री दिनु आचारसंहिताको गम्भीर उल्लङ्घन हुने भएकोले काउन्सिलले गर्ने मिडियाको अनुगमन र मूल्याङ्कनमा यसलाई विशेष निगरानी गर्न थालिएको उहाँले बताउनुभयो ।

विशेष गरी अनलाइन र कतिपय सामाजिक सञ्जालबाट आपत्तिजनक सामग्री आइरहेको र त्यस्ता माध्यमलाई कडा कानुनी कारबाही हुँदै आएको बस्नेतले जानकारी दिनुभयो ।‘पत्रकारिताबाट समाजलाई न्याय हुनुपर्ने हो, हिंसा न्यूनीकरण गर्न सघाउनुपर्ने हो तर कतिपय माध्यमबाट उल्टै हिंसा बढाउने, पारिवारिक कलह बढाउने र समाजलाई भड्काउने कार्य भएका छन् । पीडित पक्षको आवाज पातलिन थालिएको छ’ उहाँले भन्नुभयो, ‘नयाँ सञ्चालनमा आउने सञ्चार माध्यमले यस्ता कुरामा ध्यान दिएर समाचार सम्प्रेषण गरौँ, आचारसंहिता ख्याल गरौँ’ ।प्रेस काउन्सिल नेपालमा आज भएको अभिमुखीकरणको १८ औँ श्रृङ्खलालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले पत्रकारिता क्षेत्रले समाजका समस्या उजागर गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै यस क्षेत्रले समाजलाई दिने न्यायमाथि प्रश्न उठ्न दिन नहुने बताउनुभयो ।

यस्तै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले समाजले पत्रकारिता क्षेत्रबाट राखेको अपेक्षा सही ढङ्गले पूरा गर्नु यस क्षेत्रको दायित्व भएको बताउनुभयो । उहाँले नजानेर अथवा कसैको स्वार्थ सिद्ध गर्न पत्रकारिता क्षेत्रको प्रयोग गर्नु गम्भीर गल्ती भएको औँल्याउनुभयो ।
उहाँले समाज रूपान्तरणको अभियानमा विश्वसनीय पत्रकारिता चाहिने भन्दै स्तरीय र विश्वसनीय पत्रकारिताका लागि लागु भएका पत्रकार आचारसंहिता र निर्देशिकाको पालना अनिवार्य सर्त भएको उल्लेख गर्नुभयो । अध्यक्ष पोखरेलले अनलाइनहरूलाई जिम्मेवार र मर्यादित बनाउन काउन्सिलले यस्ता रचनात्मक कामलाई निरन्तरता दिनुपर्ने सुृझाव दिनुभयो ।

प्रेस काउन्सिल नेपालले नयाँ सूचीकरण हुन आउने अनलाइनका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण कक्षा दिँदै आएको छ । शुक्रबारको कक्षामा काउन्सिलका बोर्ड सदस्य रामप्रसाद दाहालले पत्रकार आचारसंहिता र न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले विभिन्न सञ्चार निर्देशिका र तीनमा भएका व्यवस्थाबारे प्रशिक्षण दिनुभएको थियो ।
काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले सहजीकरण गर्नुभएको कार्यक्रममा सहभागीले उठाएका जिज्ञासामाथि विज्ञद्वय र काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले प्रष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय