पौष ११ काठमाडौ /राष्ट्रियसभा सदस्यको यहि आउँदाे माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन् ।राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो ।
यस निर्वाचनमा ९ वटा राजनीतिक दलले सबै प्रदेशमा र ३ राजनीतिक दलले कुनै प्रदेश विशेषमा मात्र भाग लिने गरी दल दर्ता गराएका हुन ।आयोगका अनुसार, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिने छन् । लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश-२ र सुदूरपश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले वाग्मती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश-२ मा मात्र भाग लिने जानकारी दिइएको छ ।
आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दललाई पुस १ देखि आजसम्म दल दर्ताका लागि समयावधि प्रदान गरेको थियो । प्रत्येक निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्नपर्ने संवैधानिक व्यवस्था रहेकोे छ । निर्वाचनका लागि यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकी सकिएको छ । निर्वाचनका लागि प्रदेश सभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।
उन्नाइस पदका लागि हुने त्यस निर्वाचनमा पालिकाका एक हजार ४ सय ९३ र प्रदेश सभाका ५ सय ३२ मतदाता रहने छन् । आउँदाे यस निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।आउँदाे फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा(एस)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ ।
राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । याे निर्वाचनका लागि पुस २० गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । त्यही दिनदेखि निर्वाचन आचारसंहिता सबैका लागि लागू गराउने आयोगले सोच बनाएको छ ।







