पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा यूएई पुर्याई दलालले अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनेर मलाई दिनहुँ कयौं गुनासो आउने गरेको छ ।
नेपाली युवाहरु रोजगारी पाउने आशामा दलाललाई लाखौँ रकम तिरेर भिजिट भिसामा जानेहरु ठगीमा पर्ने, अलपत्र पर्ने तथा नेपाल सरकारले रोजगारीका लागि प्रतिवन्ध लगाएका मुलुकहरुमा लैजाने तथा मानव तस्करहरुको सञ्जालमा समेत पर्ने देखिएको छ ।
आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिषा’मा यूएई पुर्याएर अलपत्र पार्ने काममा मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु. ट्राभल्स संचालकहरु, दलाल तथा बिचौलियाहरु संलग्न रहेको पाइएको छ र उनिहरुबारे उजुरी पनि आएको छ । वैदेशिक रोजगार ऐन विपरीत भिजिट भिषाको नाममा श्रमिकलाई अलपत्र बनाउने काममा संलग्न कम्पनी वा ब्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सरकार प्रतिवद्ध छ ।
आजै, समस्या समाधानका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिएको छ ।
यसरी अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा पर्नुभएको छ भने त्यस्तो कार्यमा संलग्न कम्पनी वा ब्यक्तिलाई कारबाहीको दायरा ल्याउन उनिहरुबारे जानकारी गराइ सहयोग गरिदिनुहुन अनुरोध गर्दछु । त्यसका लागि मेरो सचिवालयको मोवाइल नम्वर: ९८ २३ २५ ६७ ०४ र ९८ २३ २५ ६७ ०६ मा सिधै सम्पर्क गरी गुनासो टिपाउन सक्नुहुनेछ । अन्त्यमा प्रचलित कानुन बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गर्दछु ।
(श्रममन्त्री किसान श्रेष्ठको फेसबुक बाट)







