पाँच दलीय सत्ता गठबन्धनकाे बैठक आज बिहान बस्दैछ । एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे फेरि बैठक बस्न लागेकाे हाे ।
हिजोको बैठकमा प्रतिनिधिसभाको बैठक बिनाव्यवधान सञ्चालन गर्ने तथा एमसिसी सम्झौता टेबल गर्नेबारेमा ब्यापक छलफल भएको र त्यो सकारात्मक रहेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिए । “सत्ता साझेदार दलबीचको छलफल जारी रहेकाले आज बिहान १० बजे हुने बैठकले निर्णय गर्नेगरी हिजो बसेको बैठक समाप्त भएको छ”, मन्त्री कार्कीले भने ।
आज दिउँसाे १ बजे प्रतिनिधिसभा बैठक पनि बस्दैछ ।कांगेसले एमसिसी अगाडि बढाउन चाहेको भए पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार नरहेपछि प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन् । तर १६ फागुनभित्र एमसिसीबारे निर्णय लिइसक्नुपर्ने बाध्यता रहेकाले गठबन्धनमा दाैडधुप बढेकाे हाे।







