निर्वाचन आयोग नेपालले मतदाता नामावलीमा नयाँ नाम दर्ता खुला गरेको छ । आयोगले बुधबारबाट मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो ।
मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका र योग्यता पुगेका नेपाली नागरिकले नामावली दर्ता गर्न सक्नेछन् । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार “देशका ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिनेछ।”
यसैगरी, आफ्नो स्थायी ठेगाना रहेको जिल्लाबाहिर बसोवास रहेकाले समेत बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालय पुगेर नाम दर्ता गर्न सक्नेछन् ।
त्यस्तै, पहिले दर्ता कायम भएका तर नामावलीमा त्रुटि भएकाले स्थायी ठेगाना भएका जिल्ला निर्वाचन कार्यालय गएर सच्याउन सक्नेछन् । त्यसका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालय नै जानुपर्नेछ । अथवा आयोगले इमेलमार्फत् पनि त्रुटि सच्याउन सकिने व्यवस्था गरेको छ ।







