गम्भीर अवस्थामा थप उपचारका लागि मुम्बई लगिएको कांग्रेस नेता एवम् सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ। चिकित्सकलाई उद्दृत गर्दै उपचारमा समन्वय गर्न मुम्बई गएका कांग्रेसका नेता योगराज कँडेल चिकित्सकले प्रारम्भिक परीक्षण गरेपछि खतरामुक्त रहेको जानकारी पाएको बताएका हुन्।
नेता भण्डारीको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। भण्डारीको शुक्रबार बिहान १०:३० बजे पहिलो र दिउँसो १:३० मा दोस्रो सर्जरी गर्ने तयारी रहेको कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।
डा. सुनिल केस्वानी, डा. सन्दीप मिस्त्री, डा. अमुलका अनुसार अहिले भण्डारीको पारामिटरहरू नर्मल रहेको तर ४८ घण्टा भेण्टिलेटरमै राखेर उपचार गर्नुपर्छ। भण्डारीलाई एण्टीबायोटिक्सलाई निरन्तरता दिने र शरिरमा फ्लुडको मात्रा डबल गर्ने चिकीत्सकले जनाएका छन्।
काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति ग्यास विष्फोट हुँदा भण्डारीका आमा छोरा घाइते भएका थिए। ग्यास ‘लिक’ भएको बेला बिजुलीको स्विच अन गर्दा आमा–छोरा आगलागीमा परेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बुधबार राति ग्यासको गन्ध आएपछि सांसद भण्डारीले भान्साकोठामा गएर बिजुलीको स्विच अन गरेका हुन सक्ने आकलन छ।
८६ वर्षीया हरिकलाको उपचारका क्रममा बिहीबार बिहान १०:५७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको छ। उनको शरीरको करिब ७० प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन्। चन्द्रको स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारका लागि बिहीबार श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत अपराह्न भारतको मुम्बई लगिएको थियो।







