वैदेशिक रोजगार विभागले मौसमी कामदारमा दक्षिण कोरिया पठाउने भन्दै पैसा असुल्ने कुनै पनि व्यक्ति र संस्थाको भ्रममा नपर्न र रकम नबुझाउन अनुरोध गरेको छ ।

विभागले सोमबार एक सूचना जारी गर्दै मौसमी कामदारसम्बन्धी कुनै जानकारी आवश्यक भए स्थानीय निकायको आधिकारिक पदाधिकारी, विभाग वा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा सम्पर्क गर्नसमेत भनेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘मौसमी कामदार व्यवस्थापन निर्देशिका–२०७९’ जारी गरेको छ । यो निर्देशिका जारी भएपछि स्थानीय तहहरूले दूतावासमा मागपत्र प्रमाणीकरण गरी कामदार भर्ना प्रक्रिया सुरु गर्न पाउने कानुनी व्यवस्था छ ।

सरकारले निर्देशिका जारी गरेपछि एजेन्टहरूले स्थानीय निकायले माग ल्याएको भन्दै इच्छुकहरूसँग १० लाख रुपैयाँसम्म रकम उठाउन थालेका छन् । जथाभावी रकम उठाउने प्रवृत्ति बढेपछि वैदेशिक रोजगार विभागमा विभिन्न माध्यमबाट उजुरी आउने क्रम सुरु भएको छ । रकम बुझाउनेहरूले भने औपचारिक रूपमा उजुरी दर्ता गरेका छैनन् । ‘मौसमी कामदारका रूपमा जानेहरूसँग रकम उठाउन थालिएको सूचना प्राप्त भइरहेका छन्,’ विभागका प्रवक्ता कृष्णप्रसाद भुसालले भने, ‘विभिन्न व्यक्तिले भ्रामक सूचना फैलाई रकम उठाएको जानकारी आएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय