चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ति भएपछि फिल्मका निर्माता तथा अभिनेता निश्चल बस्नेतले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्। फिल्म हेर्न गएका दर्शकहरूले हलमा मोबाइलबाट भिडियो खिचेर फेसबुक, एक्स, इन्स्टाग्राम, टिकटक लगायतका प्लेटफर्ममा अपलोड गर्ने क्रम बढेपछि बस्नेतले साइबर ब्युरोमा पाइरेसीविरुद्ध कानूनी कारबाहीको निवेदन दिएका हुन्।
उनका अनुसार, साइबर ब्युरोले यस्ता क्लिपहरू राख्ने अकाउन्टहरू बन्द गर्ने प्रक्रिया अघि बढाएको छ। बस्नेतले भने, “फिल्म बौद्धिक सम्पत्ति हो, यसको पाइरेसी गर्नु कानूनी अपराध हो भन्ने कुरा दर्शकले बुझ्न जरूरी छ।”
पाइरेसीको कारण फिल्म निर्माताहरूले ठूलो आर्थिक घाटा बेहोर्नु परेको स्थिति आएको छ। चलचित्र विकास बोर्डले पनि केही दिनअघि सूचना जारी गर्दै पाइरेसीमा सजग रहन आग्रह गरेको थियो।
‘बेहुली फ्रम मेघौली’ गत बिहीबारदेखि प्रदर्शनमा आएको हो, जसमा निश्चल बस्नेत र स्वस्तिमा खड्का शीर्ष भूमिकामा छन्। फिल्मले तीन दिनमा दुई करोड २५ लाख रुपैयाँको व्यापार गरेको छ।







