नेकपा एमालेले कीर्तिपुर नगरपालिका–२ ढुंगेअड्डामा नयाँ कार्यालय निर्माण गर्न लागेको छ। आज बिहान पौने १२ बजे एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यस कार्यालयको शिलान्यास गर्नेछन्।

हाल एमालेको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा स्थित छ। बागमती र मनहरा नदीमा बाढी आउँदा उक्त कार्यालय पटक-पटक डुबानमा पर्ने गरेको छ, जसका कारण पार्टीले नयाँ ठाउँ रोज्नुपरेको छ। एमालेले २०७२ सालको विनाशकारी भूकम्पपछि भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको छ।

यसअघि, पार्टीले धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा कार्यालय सञ्चालन गरिरहेको थियो। तर, त्यहाँको भोगाधिकार विवादका कारण थापाथली हाइटमा सर्नु परेको थियो।

पछि, एमालेको केन्द्रीय कार्यालय २०७९ सालको वैशाख ९ गते ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारिएको थियो। यस भवनलाई पाँच वर्षका लागि भाडामा लिइएको हो, तर यस जग्गा पनि सरकारले प्रतिष्ठानलाई भोगाधिकार दिएको हो। यसका कारण पनि एमालेलाई आलोचनाको सामना गर्नुपरेको थियो।

मनोहरा नदीको किनारमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानको भवन बाढी आउँदा डुबानमा पर्छ। यसै कारणले गर्दा, मदननगर बल्खुमा रहेको पुरानो जग्गामा भवन बनाउन असम्भव भएको हुँदा ढुंगेअड्डामा नयाँ कार्यालय बनाउन लागिएको केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिएका छन्।

एमालेले नयाँ केन्द्रीय कार्यालयका लागि सदस्यहरूबाट १०० रुपैयाँको सहयोग जुटाउँदै गरेको छ।नयाँ कार्यालय निर्माणको यस निर्णयले एमालेलाई स्थायी र सुरक्षित स्थानमा आफ्नो गतिविधिहरू सञ्चालन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय