अमेरिका – अमेरिकाको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या भएको छ। सोमबार उनको अपार्टमेण्टमा मृत अवस्थामा फेला परेकी २१ वर्षीया मुनालाई हत्याराले कोठाभित्रै प्रवेश गरी गोली हानेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीका अनुसार मुना बस्ने वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको अपार्टमेण्टको सर्भिलेन्स क्यामेराको फुटेज प्रहरीले जफत गरिसकेको छ। फुटेजका आधारमा हत्याराले ओछ्यानमै पुगेर मुनालाई तीनवटा गोली हानेको देखिएको छ। यद्यपि, हत्यारा को हो भन्नेबारे अझै स्पष्ट भएको छैन।
मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन्। प्रारम्भिक अनुसन्धानमा केही समयदेखि उनी अमेरिकी युवकसँग डेटिङ्गमा रहेको खुलासा भएको छ। तर, घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मुनाको शव पोष्टमार्टमका लागि लगिएको छ, र त्यसपछि घटनाबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ। नेप्लिज एशोसियसन अफ ह्युस्टनका पूर्व अध्यक्ष डाक्टर विष्णु नेपालले पोस्टमार्टमपछि शवलाई स्थानीय फ्यूनरल होममा ल्याइने र अन्त्येष्टि परिवार तथा स्थानीय संघसंस्थाको समन्वयमा गरिने जानकारी दिएका छन्। दिवंगत मुनाकी आमा नेपालमा रहेकी छन् र उनी अमेरिका पुगेपछि मात्र अन्त्येष्टि गरिनेछ।
सम्पर्क
[नेप्लिज एशोसियसन अफ ह्युस्टन](mailto:info@nepalihouston.org)







