विश्व प्रख्यात कार्यक्रम अमेरिकन आइडलमा आफ्नो गायनको प्रतिभाको साथमा उपस्थित जनाइ सो कार्यक्रममा उपबिजेता बनेका दिवेश पोखरेल(आर्थर गन) नेपालको नाम विश्वसामु चिनाएको भन्दै संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सदभावना दूत नियुक्त गरेको छ । आइतवार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गर्नुभएको हो ।
कार्यक्रममा नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिएकाले पोखरेललाई सम्मान गरिएको छ । पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सदभावना दूत घोषणा गर्न पाउँदा खुशी लागेको बताउनुहुँदै मन्त्री श्रेष्ठले आफ्नै प्रतिभामार्फत नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो ।
काठमाडौंको रविभवनमा जन्मेर उच्च शिक्षा अध्ययनको सिलसिलामा सन् २०१४ मा अमेरिका जानुभएका पोखरेल ‘अमेरिकन आइडल’को स्टेजमा दमदार उपस्थिति जनाइ लोकप्रिय बन्नुभएको थियो । मन्त्री श्रेष्ठले विभिन्न विधामा रहेका नयाँ प्रतिभाहरुले नेपाललाई विश्वमै नयाँ पहिचान दिन सफल भएको बताउनुभयो ।
प्राकृतिक सुन्दरता जैविक तथा सांस्कृतिक विविधताले भरिपूर्ण नेपालमा रहेका सर्वोच शिखर सगरमाथा, भगवान् बुद्धको जन्मभूमि लुम्बिनी, सीताको जन्मस्थल जनकपुरसहित अन्य विभिन्न धार्मिक क्षेत्र पशुपतिनाथ, मुक्तिनाथका साथै अन्य प्राकृतिक र सांस्कृतिक सम्पदाको प्रचार प्रसारमा पोखरेलले भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।







