ओमानमा भएको एक कार दुर्घटनामा परी दुई नेपाली नागरिकले ज्यान गुमाएका छन्। राजधानी मस्कटस्थित नेपाली दूतावासका अनुसार, गत आइतबार निज्वा इज्की सडकमा भएको उक्त दुर्घटनामा नेपाली युवक र युवतीको निधन भएको हो।
दूतावासले जनाएअनुसार, दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका निवासी नरबहादुर सारु र झापाकी समिता बुढाथोकीको मृत्यु भएको छ। दुर्घटनाको समयमा सारु कार चलाइरहेका थिए। गाडी एक्कासि अनियन्त्रित भएपछि दुर्घटना भएको र दुवैजनाको घटनास्थलमै निधन भएको हो।
नरबहादुर सारु सन् २०१८ देखि अल सीर कम्पनीमा मर्चन्डाइजरको रुपमा कार्यरत थिए। समिता भने वारदात अल साब अलधब्या हिना एन्ड ब्यूटी सेन्टरमा हेयर स्टाइलिस्टको रुपमा कार्यरत थिइन् र दुई वर्षअघि मात्र ओमान पुगेकी थिइन्।
नरबहादुरकी श्रीमती पनि ओमानमै रहेकोले कानुनी प्रक्रिया पूरा गरेर शनिबार सारुको शव नेपाल पठाइएको र समिताको शव पठाउने प्रक्रिया चलिरहेको दूतावासले जानकारी दिएको छ।







