काठमाडौं, असार १८ –
नेकपा (एकीकृत समाजवादी) पार्टीले नेतृ रामकुमारी झाँक्रीलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालप्रति लक्षित गरेर दिएको विवादास्पद अभिव्यक्तिको कारण स्पष्टीकरण मागेको छ।
गत शनिबार सार्वजनिक कार्यक्रममा झाँक्रीले अध्यक्ष नेपाललाई इंगित गर्दै पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप लागेकाले अब नेतृत्व परिवर्तनको आवश्यकता रहेको उल्लेख गरेकी थिइन्। उनले, “काँधमा मरेको सिनो बोकेर हिँड्न सकिँदैन,” भन्ने तीव्र टिप्पणी गर्दै अर्ली महाधिवेशनको प्रस्ताव समेत अघि सारेकी थिइन्।
उनको उक्त अभिव्यक्तिले पार्टीभित्र तीव्र प्रतिक्रिया र आलोचना निम्त्याएको छ। कतिपय नेताहरूले यसलाई पार्टी अनुशासन विपरीत भन्दै कारबाहीको माग गरेका थिए।
यही क्रममा बुधबार नेकपा (एस) को अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको हो। आयोगले तीन दिनभित्र लिखित जवाफ पठाउन निर्देशन दिएको छ।
पार्टीका एक स्थायी कमिटी सदस्यका अनुसार, “व्यक्तिगत असन्तुष्टि सार्वजनिकरूपमा व्यक्त गर्नु पार्टीको मर्यादाविपरीत हो। यस्तो कदमले संगठनलाई कमजोर बनाउने खतरा हुन्छ।”
झाँक्रीले अहिलेसम्म सार्वजनिकरूपमा उक्त अभिव्यक्तिका सम्बन्धमा कुनै प्रतिक्रिया जनाएकी छैनन्। तर उनी पार्टीभित्र सक्रिय रूपमा आलोचनात्मक धारणा राख्दै आएकी नेतृको रूपमा चिनिन्छिन्।
यस प्रकरणपछि नेकपा (एस) भित्रको आन्तरिक कलह पुनः सतहमा आएको देखिन्छ। आगामी दिनमा झाँक्रीको जवाफ र पार्टीको निर्णयले संगठनको आन्तरिक सन्तुलनमा थप प्रभाव पार्ने संकेत देखिएको छ।







