काठमाडौं, असार १७ — नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद राजेन्द्रप्रसाद पाण्डेले दुई वर्षे ‘कुलिङ पिरियड’ को सहमतिमा भएको चलखेलमा केही सचिवहरु संलग्न भएको लगाएका छन्।
आज मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पाण्डेले कुलिङ पिरियडसम्बन्धी विधेयक संसदबाट पारित सम्बन्धमा एक समूह सचिवहरु प्रधानमन्त्रीलाई संयुक्त राजीनामाको धम्की दिन गएको दाबी गरेका छन्।
उनका अनुसार, लामो छलफलपछि रक्षा, गृह, संघीय मामिला तथा शिक्षा मन्त्रीहरुको सहभागितामा गृह मन्त्रालयकै तर्फबाट दुई वर्षे कुलिङ पिरियडमा सहमति भएको थियो। सोही सहमतिलाई विधेयकमा समावेश गरेर पारित गरिएको भए पनि पछिल्लो संशोधनमा सचिवहरुले मिलेमतो गर्दै असहमति गराउँदै पुनः संशोधन गर्न खोजिएको उनले बताए।उनले कुलिङ पिरियडसम्बन्धी स्पष्ट व्यवस्था उल्लेख गर्दै भने, “सरकारी वा निजामती सेवाबाट अवकाश वा राजीनामा दिएको व्यक्तिले अवकाश भएको मितिदेखि दुई वर्ष नपुगी कुनै संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउन नपाउने हामीले पास गरेको हो।”
त्यसैगरी सांसद पाण्डेले दोषी देखिएका सचिवहरुलाई कारबाही नगरेसम्म संघीय संसदअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न नसकिने चेतावनीसमेत दिएको छ।







